होचा पुड्का महिलाको मातृत्व अधिकारबारे सन्देश दिने नाटक ‘उत्सर्ग’ मञ्चन

news-details

काठमाडौं । स्थानीय निकायको सहकार्यमा नेपाल होचा पुड्का संघले सामाजिक सन्देशमूलक नाटक ‘उत्सर्ग’ मञ्चन गर्ने भएको छ। समाजमा प्रचलित भ्रम र डरविरुद्ध सचेतना फैलाउने उद्देश्यले तयार गरिएको उक्त नाटकले विशेषगरी उचाइ कम भएका महिलाहरू (होचा पुड्का) आमा बन्न सक्छन् वा सक्दैनन् भन्ने विषयलाई उजागर गर्ने प्रयास गरेको छ।

नाटकमार्फत प्रजनन स्वास्थ्य, परिवार नियोजन तथा महिला अधिकारका विषयमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ। समाजमा अझै पनि होचा पुड्का महिलाको मातृत्व क्षमताबारे रहेका भ्रम र पूर्वाग्रहलाई हटाउन नाटकले सशक्त सन्देश दिने अपेक्षा गरिएको छ।

नाटकमा निश्चल श्रेष्ठ, अनिता थापा, सरु दहाल, राजेन्द्र गिरि, रिया घिमिरे, सुर्या खान, लालुमाया पाख्रीन र निशल दुलाललगायत कलाकारहरूको अभिनय रहेको छ।

नाटकको आलेख राजु खतिवडाले तयार गरेका हुन् भने निर्देशन चर्चित रंगकर्मी जेबी डिसीले गरेका छन्। निर्देशक डिसी लामो समयदेखि रंगमञ्चका विभिन्न क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनले चलचित्र क्षेत्रमा पनि आफ्नो अभिनयमार्फत सफल अभिनेताको रूपमा पहिचान बनाइसकेका छन्। होचा पुड्का संघसँग लामो समयदेखि सहकार्य गर्दै उनले उनीहरूका विषयवस्तुमा आधारित सामाजिक नाटकहरूको निर्देशन गर्दै आइरहेका छन्।

आयोजकका अनुसार काठमाडौंका विभिन्न स्थानमा मञ्चन गरिसकेपछि नाटक ‘उत्सर्ग’ पोखरा र हेटौंडाका विभिन्न स्थानमा पनि प्रदर्शन गरिनेछ।

समाजका संवेदनशील विषयवस्तुलाई समेटेर तयार गरिएको यस नाटकले दर्शकलाई शिक्षा, सन्देश र मनोरञ्जन एकैसाथ प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया