अष्ट्रेलियाको संघर्षको कथा समेटिएको चलचित्र ‘पीआर’को टिजर सार्वजनिक

news-details

अष्ट्रेलियाको नेपाली डायस्पोराको कथा समेटिएको चलचित्र ‘पीआर’को टिजर सार्वजनिक भएको छ ।

सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र ‘पीआर’ पर्मानेन्ट रेसिडेन्टको मर्मस्पर्शी टिजर बिहीवार सार्वजनिक भएको हो ।

अष्ट्रेलियामा स्थायी बसोबास अनुमति पत्र (पीआर) पाउन विद्यार्थीले संघर्ष गर्दागर्दै कसरी समय, परिवार, सम्बन्ध पछि पर्छन् भन्ने विषय बस्तु समेटिएको देखिन्छ ।

पीआरको लागि गाँसिएको सम्बन्ध स्वार्थपूर्ण सम्बन्ध, यसले परिवारमा ल्याउने कलह, पैसा कमाउनको लागि गरिने संघर्षको कथा चलचित्रमा रहेको जनाइएको छ । सपना देखेर अष्ट्रेलियामा पुगेर नेपालीले गरिरहेको यथार्थ घटनाक्रमलाई समेटिएको चलचित्रका प्रस्तुतकर्ता तथा अष्ट्रेलियामा व्यवसाय गरिरहेका रंजित शाहले जानकारी दिए ।

टिजरमा पीआर भन्दाभन्दै अस्पतालको बेडमा पुगेर जीवन सकिएको दृश्य निकै मर्मस्पर्शी देखिन्छ । शोभित बस्नेत निर्देशित फिल्ममा सबै नयाँ कलाकारले अभिनय गरेका छन् भने अष्ट्रेलियामा छायांकन गरिएको छ ।

फिल्मको प्रदर्शन चाँडै हुने जनाइएको छ । फिल्ममा आरए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, विमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायलको अभिनय छ ।

विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, दिक्पाल कार्की उत्तम केसीले अभिनय गरेका छन । रन्जित शाह र सन्तोष तिवारी प्रस्तुतकर्ता रहेको फिल्मको पटकथा पनि निर्देशक बस्नेतले लेखेका हुन् ।

यो फिल्म असारको अन्त्यबाट अष्ट्रेलिया र न्यूजिल्याण्डमा रिलिज हुनेछ । दशैं छेकोमा विश्वब्यापी रिलिज गरिने जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया