विश्वकप फुटबल : मोरोक्कोलाई हराउँदै तेस्रो भयो क्रोएसिया

news-details

क्रोएसिया कतारमा जारी २२औं फिफा विश्वकप फुटबलमा तेस्रो भएको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा शनिबार राति भएको खेलमा क्रोएसियाले मोरोक्कोलाई २-१ गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा तीनवटै गोल पहिलो हाफमा भएको थियो । क्रोएसियाको जितमा जोस्को गर्भाडिओल र मिस्लाभ ओर्सिचले गोल गरे । मोरोक्कोका अच्राफ दारीको गोल सान्त्वना बनेको थियो ।

रोमाञ्चक खेलमा सुरुवाती अग्रता क्रोएसियाले लिएको थियो । सातौं मिनेटमा गर्भाडिओलले हेड गोल गर्दै क्रोएसियाको उत्साह जगाए । उनले इभान पेरिसिचको पासमा उत्कृष्ट डाइभ हेड गरेका थिए ।

त्यसको दुई मिनेट लगत्यै मोरोक्कोले बराबरी गोल फर्कायो । दारीले फ्रिकिकमा प्राप्त बललाई सोझै जाली चुमाएका थिए । त्यसपछि ४२औं मिनेटमा ओर्सिचको डिबक्स छेउको प्रहार पोलमा लाग्दै गोल भएको थियो ।

मोरोक्कोका गोलरक्षक यासिन बोनोको हात लागेपनि ओर्सिचको शसक्त प्रहारले पोलमा लाग्दै जाली चुमेको थियो । दोस्रो हाफमा दुवै टोलीले गोलका लागि अवसर बनाएपनि सदुपयोग गर्न नसक्दा क्रोएसिया विजयी भयो ।

साविक उपविजेता क्रोएसियाले तेस्रो स्थानमा रहँदै विश्वकपको सुखद अन्त्य गरेको छ । अफ्रिकी देश मोरोक्कोले पहिलो पटक चौथो बन्दै सिंगो अफ्रिका महादेशकै नयाँ इतिहास रचेको छ । विश्वकपको फाइनल खेलमा आइतबार राति साविक विजेता फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ । -एजेन्सी

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया