विधिवतरुपमा दर्ता भयो गैरआवासीय नेपाली संघको ‘एनआरएन नेपाल डेभलपमेन्ट फन्ड’ कम्पनी

news-details

नेपालमा पूर्वाधार विकासको विभिन्न क्षेत्रहरूमा लगानी गर्ने उद्देश्यसहित गैरआवासीय नेपाली संघ (एनआरएन)को नेतृत्वमा ‘एनआरएन नेपाल डेभलपमेन्ट फन्ड’ कम्पनी विधिवतरुपमा दर्ता भएको छ । संघले मङ्गलबार कम्पनी रजिष्ट्रारको कार्यालयबाट कम्पनी दर्ता प्रमाणपत्र प्राप्त गरेको हो ।

प्रारम्भिक चरणमा दस अर्ब रुपियाँ लगानी गर्ने योजनासहित स्थापना भएको उक्त कम्पनीमा संस्थापकतर्फबाट नेपाल सरकारको पाँच प्रतिशत र संघको १५ प्रतिशत लगानी रहने छ भने बाकी ८५ प्रतिशत लगानी विदेशमा रहेका नेपालीहरुको रहने छ ।

अहिलेसम्म उक्त कम्पनीमा संस्थापकतर्फबाट दुई अर्ब रुपियाँ भन्दा बढी लगानी प्रतिबद्धता प्राप्त भइसकेको जानकारी दिदै संघका अध्यक्ष कुमार पन्तले विदेशमा रहेका गैरआवासीय नेपालीहरुका लागि पनि छिट्टै नै प्राथमिक शेयर (आईपीओ) जारी गरेर सर्वसाधारणतर्फको ८५ प्रतिशत लगानी पनि जुटाइने बताए । कम्पनीले जारी गर्ने आईपीओमा गैरआवासीय नेपालीले मात्र आवेदन दिन सक्ने छन् भने आईपीओमा तोकिएकोभन्दा अधिक रकम प्राप्त भएको अवस्थामा उक्त रकमलाई पनि लगानी गर्ने सुविधा संघलाई उपलब्ध छ ।

संघले उक्त कम्पनीमार्फत नेपालका उद्यम, पूर्वाधार र व्यवसायका क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ । संघका अनुसार अहिलेसम्म लगानीका लागि १७० वटा परियोजनाको प्रस्ताव आएको छ । त्यसमध्ये दुई दर्जन परियोजना छनोट गरेर सम्भाव्य क्षेत्रमा लगानी गर्ने संघले जनाएको छ । सम्भाव्यता अध्ययनका लागि संघले बैङ्कर अनलराज भट्टराईको संयोजकत्वमा विज्ञ टोली पनि गठन गरिसकेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया